कैलाली । साबिक उपविजेता न्युजिल्यान्डले १३ औँ संस्करणको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सानदार प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ ।
बिहीबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा भएको उद्घाटन खेलमा न्युजिल्यान्डले साबिक विजेता इंग्ल्यान्डमाथि नौ विकेटको सानदार जित हात पार्दै विश्वकपमा विजयी सुरुवात गरेको हो ।
इंग्ल्यान्डले दिएको दुई सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य न्युजिल्यान्डले ३६ ओभर दुई बलमा मात्र एक विकेट गुमाएर पूरा गर्यो । उसको जितमा डेविड कानवे र रचिन रविन्द्रले अविजित शतकीय पारी खेले ।
कानवेले एक सय २१ बलमा अविजित एक सय ५२ रनको सानदार पारी खेल्दा रविन्द्रले ९६ बलमा अविजित एक सय २३ रन बनाए । यी दुईबीच दोस्रो विकेटका लागि अविजित दुई ७३ रनको साझेदारी भएको थियो । इंग्ल्यान्डका लागि एक मात्र विकेट साम करनले लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डका लागि जो रुटले ७७ रन बनाएपछि इंग्ल्यान्डले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८२ रन बनाएको थियो । उपाधिको दाबेदार मानिएको इङ्ल्यान्ड आज पहिलो खेलमा नै न्युजिल्यान्ड सामु निरीह देखिन पुग्यो ।
यो जित सँगै न्यूजिल्याण्डले सन् २०१९ मा इंग्ल्याण्डमा भएको एक दिवसीय विश्वकप क्रिकेटको फाइनमा खेलमा हारेको बदला समेत लिएको छ । उक्त खेलमा सुपर ओभर पनि बराबरीमा सकिएपछि बाउन्ड्रीका आधारमा उपाधिको छिनोफानो गर्दा न्यूजील्याण्ड इङ्ल्यान्ड सामु निरिह बन्दै उपविजेतामै सीमित रहेर स्वदेश फर्किएको थियो ।
विश्वकप क्रिकेटमा भोलि पाकिस्तान र नेदरल्यान्डबीच खेल हुने समय तालिका रहेको छ ।