कैलाली । भारतमा बिहीबार देखि सुरु भएको एकदिवसीय पुरुष विश्वकप क्रिकेट २०२३ मा पाकिस्तानले विजयी सुरुवात गरेको छ । उपाधिको दाबेदारको रूपमा हेरिएको पाकिस्तानले शुक्रवार राती सम्पन्न खेलमा नेदरल्याण्ड्सलाई ८१ रनले पाखा लगाएको हो ।

यता पाकिस्तानलाई उपाधि दाबेदारको रूपमा हेरिँदा उता नेदरल्याण्ड्स पहिलो पटक एकदिवसीय विश्वकप खेल्न लागेको टोली हो । शुक्रबार हैदराबादमा दुई सय ८७ रनको चुनौतीपूर्ण विजयी लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४१ ओभरमा दुई सय पाँच रनमै समेटिन पुग्यो । उसका लागि बास डि लिडले ६८ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ६७, ओपनर विक्रमजित सिंहले ६७ बलमा चार चौका र एक छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि प्रयाप्त हुन सकेन ।

यस्तै लोगन भान बिकले अविजित २८ रनको पारी खेले । अन्य कुनैपनि खेलाडीले राम्रो गर्न सकेनन् ।

ओपनर म्याक्स ओडाउड र विक्रमजित सिंहले ५.५ ओभरमा २८ रनको साझेदारी गरेका थिए । हसन अलीको सर्ट बलमा ओडाउड ५ रनमा पेभिलियन फर्किएपछि कोलिन एकरम्यान २१ बलमा तीन चौकासहित १७ रनमा आउट भए ।

उनी स्पिनर इफ्तिखर अहमदको बलमा स्वीप खेल्ने धुनमा बोल्ड भएका थिए । तेस्रो विकेटका लागि बास डि लिड र सिंहले ७० रनको साझेदारी गर्दै पाकिस्तानलाई दबाबमा राखेका थिए । स्पिनर शादब खानको बलमा सिंह मिडविकेटमा फखार जमानबाट क्याच आउट भएपछि पाकिस्तान खेलमा फर्किएको थियो ।

हरिस रौफको २७ औं ओभरको दोस्रो बलमा तेजा निडामानिरु पाँच रनमा क्याच आउट भए । दुई बलपछि नेदरल्याण्ड्सका मध्यक्रमका प्रमुख ब्याट्सम्यान स्कट एडवार्डस शून्यमा एलबीडब्लू आउट भएपछि जित कठिन बनेको थियो । उक्त ओभर पाकिस्तानको जितमा टर्निङ प्वाइन्ट बन्यो ।

तर अर्को एन्डबाट बास डि लिडले सानदार प्रदर्शन गर्दै निरन्तर जितको आशा दिलाएका थिए । लिड स्पिनर मोहम्मद नवाजको ३४ औं ओभरको दोस्रो बलमा बोल्ड आउट भएपछि जितको सम्भावना कठिन बनेको थियो । सकिब जुलफिकर १०, रोलेफ भान मर्वे चार, हसन अली एक र पाउल भान मर्केन सात रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ९ ओभरमा ४३ रन खर्चेर तीन विकेट लिए । यस्तै हसन अलीले दुई तथा शाहिन शाह अफ्रिदी, इफ्तिखर अहमद, मोहम्मद नवाज र शादब खानले समान एक विकेट लिए ।

त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४९ ओभरमा दुई सय ८६ रनमा नै सबै विकेट गुमाएर आफ्नो पारीको अन्त्य गर्न बाध्य भएको थियो । पाकिस्तानको जितमा विकेटकिपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए । रिजवानले ७५ बलमा आठ चौका तथा सकिलले ५२ बलमा नौ चौका र एक छक्का प्रहार गरे ।

खराब सुरुवात गरेको पाकिस्तानलाई चौथो विकेटका लागि रिजवान र सकिलले एक सय १४ बलमा एक सय २० रनको महत्वपूर्ण साझेदारी गर्दै बलरलाई जितको आधार बनाइदिएका थिए । बास डि लिडको बलमा रिजवान बोल्ड आउट भएका थिए । तर लिडले मध्यक्रम र तल्लोक्रम धराशायी पारेका थिए ।

तीव्र गतिका बलर लोगन भान बिकको चौथो ओभरको चौथो बलमा ओपनर फखार जमान १२ रनमा कट एण्ड बोल्ड आउट भए । कप्तान बाबर आजम पार्टटाइम स्पिनर कोलिन एकरम्यानको बलमा मिडअनमा पाँच रनमा सकिब जुलफिकरबाट क्याच आउट भए ।

तीव्र गतिका बलर पाउल भान मार्केनको सर्ट बलमा इमाम उल हक १५ रनमा अर्यान दत्तबाट क्याच आउट भएपछि पाकिस्तान ३८–३ को अवस्थामा पुगेको थियो । रिजवान र सकिलले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

त्यसपछि पाकिस्तानले पुनः लगातार विकेट गुमाएको थियो । लिडले रिजवान र इफ्तिखर अहमदलाई ३२ औं ओभरमा आउट गर्दै खेल नेदरल्याण्ड्सको पक्षमा खेल मोडेका थिए । इफ्तिखर एज लागेर नौ रनमा आउट भएका थिए ।

शादब खान ३४ बलमा दुई चौका र एक छक्कासहित ३२ रनमा आउट भए । मोहम्मद नवाज ४४ बलमा चार चौकासहित ३९ रनमा रन आउट भएका थिए । नवाज र शादबले सातौँ विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गर्दै पाकिस्तानलाई खेलमा राखी राखेका थिए । हरिस रौफ १६ आउट हुँदा शाहिन शाह अफ्रिदी १३ रनमा अविजित रहे ।

नेदरल्याण्ड्सका बास डि लिडले ९ ओभरमा ६२ रन खर्चेर चार विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन् । कोलिन एकरम्यानले दुई तथा अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनको नाममा समान एक विकेट रह्यो । अव पाकिस्तानले मंगलबार श्रीलंकासँग खेल्नेछ । नेदरल्याण्ड्स सोमबार न्युजिल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले हराएको थियो ।

विश्वकपमा शनिबार दुई खेल हुने खेल तालिका रहेको छ । बिहान बंगलादेश र अफगानिस्तानबीच भारतको हिमाचल प्रदेश क्रिकेट संघ रङ्गशाला धर्मशाला खेल हुनेछ । उक्त खेल बिहान १०: ४५ मा हुनेछ । दिउँसो २ : ४५ मा अरुण जेटली रङ्गशाला दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने भएको छ ।