प्रेम ताडी
सुखड । कैलालीकाे घोडाघोडी नगरपालिकामा रहेकाे घोडाघोडी अस्पतालले कैलालीका विभिन्न ९ क्याम्पसमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सहमति भएको छ । आज घोडाघोडी अस्पताल र अनेरास्ववियु क्रान्तिकारी बीच यस्ताे सहमति भएकाे हाे ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले कैलाली जिल्लामा रहेका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य सेवामा सहजताका लागि घोडाघोडी अस्पताल प्रालिलाई अनुरोध गरेको थियो । अस्पतालले उक्त कुरालाई स्विकार्दै विद्यार्थीको स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सहमति गरेको हो ।
क्रान्तिकारीको आग्रहमा सहमति जनाउँदै अस्पतालका अध्यक्ष चिरन जोशी र क्रान्तिकारीका तर्फबाट सङ्गठनका केन्द्रीय सचिवालय सदस्य सौरभ चौधरी, खप्तड बहुमुखी क्याम्पस स्ववियु पदाधिकारी र घोडाघोडी बहुमुखी क्याम्पस इकाई कमिटी पदाधिकारीले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार कैलाली जिल्लाका घोडाघोडी बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस , खप्तड बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज, रघुनाथ बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, लम्की बहुमुखी क्याम्पस र मोहन्याल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले आगामी तीन वर्षसम्म उक्त सेवा पाउने छन् । विद्यार्थीले क्याम्पसको परिचयपत्र साथमा ल्याएमा सेवा पाउने जनाइएको छ ।