कैलाली । चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत भर्खरै सम्पन्न भएको पुरुष क्रिकेटको पहिलो क्वाटर फाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

मङ्गलवार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा भारतले दिएको दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रन जोड्न सक्यो ।

यो नेपाल र भारतबिचको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल पनि हो। यसअघि नेपालले एसिया कपमा भारतसँग पहिलो एक दिवसीय खेल खेलेको थियो। जसबाट थुप्रै अनुभव सँगालेको थियो ।

आजको खेलमा नेपाल सुरुवातमा ब्याटिङ लाइन केही धरमराए पनि मध्यम क्रममा आएका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । तीन ओभर चार बलमै पहिलो ओपनर आशिफ शेखलाई १० रनमा गुमाएको नेपालको खातामा उक्त अवस्थामा २८ रन थियो । त्यसपछि क्रिजमा आएका कुशल मल्लले अर्का ओपनर कुशल भुर्तेलसँग केही साझेदारी गरे । फेरि आठ ओभर पाँच बलमा दोस्रो विकेटका रूपमा भुर्तेललाई २९ रनमा गुमायो । जसको लगत्तै १० ओभर चार बलमा मल्ललाई पनि २९ रनमा गुमाएको नेपालको खातामा त्यस बखत जम्मा ७६ रन थियो । भुर्तेल पेभिलियान फर्किएपछि क्रिजमा आएका कप्तान रोहित कुमार पौडेल क्रिजमा जम्न सकेनन् । उनी पाँच बलको सामना गर्दै १० ओभरको अन्तिम बलमा मात्रै तीन रनमा पेभिलियनको बाटो फर्किए । त्यसपछि क्रिजमा आएका दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । मात्रै १५ बलको सामना गरेका ऐरीले चार छक्काको मद्दतमा ३२ रन जोडे । त्यसपछि आएका सन्दीप जोराले पनि केही आशा जगाए। जसले १२ बलमा एक चौका र तिन छक्काको मद्दतमा २९ रनको पारी खेले । उनी आउट भएपछि खेल पुरै भारतको पक्षमा ढल्की सकेको थियो । पछि करण केसीले १८, सोमपाल कामीले सात र सन्दीप लामिछानेले पाँच रन जोड ।

बलिङ तर्फ भारतका रवि बिश्नोइ र आवेश खानले समान विकेट लिँदा अर्शदीप सिंहले दुई विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा मात्रै चार विकेटको क्षतिमा दुई सय दुई रनको विशाल आँकडा तयार पारेको थियो ।

भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे। उनले ४९ बलमा आठ चौका र सात छक्का प्रहार गरे। शतक प्रहार गरे लगत्तै जैशवाल दीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए।

यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ रनमा अविजित रहे। भारतका कप्तान रूतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा पहिलो विकेटका रूपमा पेभिलियनको बाटो देखाएका थिए। गरे। भारतले नौ ओभर पाँच बलमा पहिलो विकेट गुमाउँदा एक सय तीन रन जोडी सकेको थियो।

यस्तै तिलक बर्मालाई सोमपाल कामीले दुई रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई पाँच रनमा आउट गरे।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान एक विकेट लिए।

समग्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल पहिलो इनिङमा फिल्डिङमा भने केही चुकेको थियो । जसका बाबजुद ठूलो लक्ष्य पाएको थियो ।

नेपाल समूह ‘ए’ को विजेता बन्दै अन्तिम आठमा पुगेको हो।

भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधै अन्तिम आठमा पुगेका थिए।