प्रेम ताडी

सुखड । कैलालीको घोडाघोडीमा बुधवारदेखि सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता २०८० अन्तर्गत छात्र र छात्रा भलिबलमा घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ ।

आज भएको उद्घाटन खेलमा छात्र तर्फ घोडाघोडीले सीता कुण्ड माध्यमिक विद्यालयलाई २-१ को सोझो सेटमा पाखा लगाउँदै विजयी सुरुवात गरेको हो । पहिलो सेटमा सीता कुण्डले घोडाघोडीलाई २५-२३ ले पाखा लगाएको थियो भने दोस्रो र तेस्रो सेटमा घोडाघोडीले सीता कुण्डलाई क्रमशः २५-२३ र २५-२२ ले पाखा लगायो ।

सुरुवात देखि नै निकै रोमाञ्चक बनेको खेलमा अन्ततः घोडाघोडीले आफ्नो पक्षमा बाजी मार्न सफल रह्यो ।

यस्तै छात्रा भलिबलमा पनि घोडाघोडीले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा घोडाघोडीले पहलमानसिंह मेमोरियललाई पाखा लगाउँदै विजयी सुरुवात गरेको हो

यस्तै छात्र तर्फको सटपुटमा पनि घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेको छ । घोडाघोडीका विक्रम विष्टले उक्त पदक दिलाएका घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका खेलकुद संयोजक घनश्याम जोशीले जनाएका छन्।

राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता आज देखि “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ! एकताबद्ध देश, खेलकुदको सन्देश !!” भन्ने मुल नारा सहित जिल्लाको घोडाघोडी नगरपालिका १० मा रहेको कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको हो । उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख खडक बहादुर रावतले गरेका थिए ।

यहि पुस २०/२१ गते आधारभुत तहको अन्तर बिद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता विभिन्न ५ क्लस्टरमा सञ्चालन गरिएको थियो । भने २५ गते देखि सञ्चालन भएको माध्यमिक तहको राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता २८ गते समापन कार्यक्रम गरिने भएको छ ।