भक्त बिक

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १९ स्वर्ण, ९ रजत र ५ कांस्य गरी जम्मा ३३ पदक सहित कान्ति राज्य लक्ष्मी माध्यमिक विद्यालय प्रथम भएको छ । गत २५ गते बुधबार देखि सञ्चालन गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज २८ गते समापन गरिएको हो । घोडाघोडी नगरपालिका भित्र रहेका माध्यमिक तहका २२ ओटा सामुदायिक तथा संस्थागत विद्यालयहरूका बिचमा प्रतियोगिता सञ्चालन भएको प्रतियोगिताका संयोजक धन बहादुर बमले जानकारी दिएका छन् ।

दोस्रो हुने घोडाघोडी सामुदायिक विद्यालयले १३ स्वर्ण, ६ रजत र ५ कांस्य गरी जम्मा २४ पदक प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय माध्यमिक विद्यालय तारानगर तेस्रो स्थानमा रहन सफल भयो । उसले ५ स्वर्ण, ३ रजत र ३ कांस्य गरी जम्मा ११ पदकका प्राप्त गरेको छ ।

राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता नगरभरिका सामुदायिक र संस्थागत विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, शर्टफुट, रिले दौड, हाई जम्प, दौड, ट्रिपल जम्प, ज्यावलिङ थ्रो, तेक्वान्दो र कराते लगायतका खेलहरू सञ्चालन भएको थियो ।